अध्याय १. प्राविधिक विश्लेषण
Chapter 1

अध्याय १. प्राविधिक विश्लेषण

प्राविधिक विश्लेषणको परिभाषा, मुख्य मान्यता, प्रवृत्ति, बजार मनोविज्ञान र प्रारम्भिक इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको अध्याय।

अध्याय १. प्राविधिक विश्लेषण

यस अध्यायका मुख्य सिकाइ उद्देश्यहरू (Learning Objectives) निम्न अनुसार छन्:

  • प्राविधिक विश्लेषणको परिभाषा, उद्देश्य र प्रयोग क्षेत्र बुझ्न।

  • “मूल्यले सबै सूचना प्रतिबिम्बित गर्छ”, “मूल्य प्रवृत्तिमा चल्छ” र “बजार ढाँचाहरू दोहोरिन्छन्” भन्ने आधारभूत मान्यताहरू व्याख्या गर्न।

  • मूल्य अभिलेख, क्यान्डलस्टिक चार्ट, डाउ युग र प्रारम्भिक चार्टिङ इतिहासको विकासक्रम बुझ्न।

  • प्राविधिक विश्लेषणलाई माग–आपूर्ति, बजार मनोविज्ञान र सहभागीहरूको सामूहिक व्यवहारसँग जोडेर विश्लेषण गर्न।

प्राविधिक विश्लेषण

प्राविधिक विश्लेषण (Technical Analysis) भनेको वित्तीय बजारमा कारोबार हुने सम्पत्ति (जस्तै: सेयर, बन्ड, कमोडिटी, मुद्राहरू आदि) को मूल्य (Price) र परिमाण (Volume) मा आधारित डेटाको अध्ययन गरी बजारको वर्तमान अवस्था, प्रवृत्ति (Trend) तथा सम्भावित भविष्यको मूल्य चालको आकलन गर्ने एक वैज्ञानिक र विश्लेषणात्मक विधि हो। यस विश्लेषण पद्धतिले ऐतिहासिक बजार डेटाको व्यवस्थित अध्ययनमार्फत बजार सहभागीहरूको सामूहिक व्यवहार र मनोविज्ञानलाई बुझ्न सहयोग गर्दछ, जसका आधारमा भावी मूल्य चालको सम्भावना पहिचान गर्न सकिन्छ।

प्राविधिक विश्लेषणको मूल अवधारणा यस मान्यतामा आधारित हुन्छ कि बजार मूल्यले उपलब्ध सम्पूर्ण सूचनालाई प्रतिबिम्बित गरिसकेको हुन्छ। त्यसैले कम्पनीको मौलिक अवस्था, आर्थिक सूचकहरू, समाचार, राजनीतिक घटनाक्रम तथा लगानीकर्ताहरूको भावना जस्ता पक्षहरू अन्ततः मूल्य र परिमाणमा अभिव्यक्त भइसकेका हुन्छन् । यस विधिमा मुख्य रूपमा मूल्य चार्ट, परिमाण चार्ट, चार्ट प्याटर्न, ट्रेन्डलाइन, सपोर्ट–रेजिस्टेन्स क्षेत्र र विभिन्न प्राविधिक सूचकहरू (Indicators) को प्रयोग गरिन्छ।

प्राविधिक विश्लेषण अन्तर्राष्ट्रिय स्तरमा स्थापित विभिन्न सिद्धान्तहरू, नियमहरू र मान्यताहरूमा आधारित हुन्छ। यसको केन्द्रबिन्दु चार्टमा देखिने तथ्यपरक डेटा र सूचकहरूले दिएको संकेतलाई वस्तुनिष्ठ रूपमा व्याख्या गर्नु हो। यसले विश्लेषकलाई व्यक्तिगत अनुमान, भावना वा पूर्वाग्रहभन्दा बाहिर रहेर बजारको यथार्थपरक अवस्था बुझ्न मद्दत गर्दछ।

यदि प्राविधिक विश्लेषणको क्रममा विश्लेषकको व्यक्तिगत भावना, चाहना, स्वार्थ वा पूर्वधारणाहरू समावेश भएमा, चार्ट प्याटर्न, ट्रेन्ड तथा खरिद बिक्री संकेतहरूको व्याख्या प्रभावित हुन जान्छ। यस्तो अवस्थामा विश्लेषण निष्पक्ष नहुने र त्यसको विश्वसनीयता घट्ने सम्भावना रहन्छ। त्यसकारण, प्रभावकारी प्राविधिक विश्लेषणका लागि विश्लेषकले पूर्ण रूपमा तटस्थ, अनुशासित र वस्तुनिष्ठ दृष्टिकोण अपनाउनु अत्यन्त आवश्यक हुन्छ। व्यक्तिगत अपेक्षा वा भावनाले निर्देशित विश्लेषणले गलत निर्णयतर्फ लैजान सक्छ।

निष्कर्ष

यसरी, प्राविधिक विश्लेषण वित्तीय बजारको मूल्य, परिमाण, प्रवृत्ति तथा सहभागीहरूको सामूहिक मनोविज्ञानलाई अध्ययन गरी सम्भावित भावी मूल्य चालको आकलन गर्ने एक महत्त्वपूर्ण, वैज्ञानिक तथा वस्तुनिष्ठ विश्लेषण पद्धति हो। यसको प्रभावकारिता ऐतिहासिक डेटा, चार्ट संरचना र प्राविधिक संकेतहरूको निष्पक्ष व्याख्यामा निर्भर हुन्छ। त्यसैले, प्राविधिक विश्लेषणलाई प्रभावकारी बनाउन विश्लेषकले व्यक्तिगत भावना, पूर्वाग्रह वा स्वार्थबाट मुक्त रही अनुशासित, तटस्थ र तथ्यमा आधारित दृष्टिकोण अपनाउनु अनिवार्य हुन्छ। यही वस्तुनिष्ठता नै सफल विश्लेषण र उचित लगानी निर्णयको आधार हुन्छ।

१.१. प्राविधिक विश्लेषणका प्रमुख मान्यताहरू

१.१.१. मूल्यले सबै कुरा प्रतिबिम्बित गर्दछ

प्राविधिक विश्लेषणको पहिलो र सबैभन्दा महत्वपूर्ण मान्यता अनुसार बजारको मूल्यले सम्बन्धित सम्पूर्ण सूचना समेटेको हुन्छ। कम्पनीसम्बन्धी मौलिक तथ्याङ्क, आर्थिक अवस्था, समाचार, राजनीतिक घटनाक्रम, बजार सहभागीहरूको धारणा तथा मनोविज्ञान सबै अन्ततः मूल्यमा प्रतिबिम्बित हुन्छन् । यद्यपि, प्राकृतिक विपद्, युद्ध, आतंकवादी हमला, महामारी जस्ता अप्रत्याशित घटनाहरूले उत्पन्न भएको सूचनाले मूल्यमा तत्काल प्रभाव पार्ने गर्दछ।

१.१.२. मूल्य प्रवृत्तिमा चल्दछ

बजार मूल्य सधैं कुनै न कुनै प्रवृत्तिभित्र चल्ने गर्दछ। सामान्यतया बजारका प्रवृत्तिहरु तीन प्रकारका हुन्छन्:

बढ्दो प्रवृत्ति (Bullish Trend):

बढ्दो प्रवृत्ति भन्नाले बजारमा मूल्य क्रमशः माथिल्लो दिशातर्फ अग्रसर हुने अवस्थालाई जनाउँछ। यस्तो प्रवृत्तिमा मूल्यले सामान्यतया हायर हाई (Higher High) तथा हायर लो (Higher Low) हरुको शृंखला निर्माण गर्दछ। अर्थात, प्रत्येक नयाँ उच्च बिन्दु अघिल्लो उच्च बिन्दुभन्दा माथि र प्रत्येक नयाँ न्यून बिन्दु अघिल्लो न्यून बिन्दुभन्दा पनि माथि रहन्छ। यही संरचनाले बजारमा मागको प्रभाव आपूर्तिभन्दा बलियो रहेको संकेत गर्दछ। बुलिश प्रवृत्तिको मनोवैज्ञानिक पक्ष हेर्दा, बजार सहभागीहरूमा आशावाद, विश्वास तथा भविष्यमा मूल्य अझ माथि जाने अपेक्षा बढी देखिन्छ। खरिदकर्ताहरू करेक्सन वा अल्पकालीन गिरावटलाई पनि सम्भावित अवसरका रूपमा हेर्दछन्। यही कारणले बढ्दो बजारमा प्रायः “Buy the Dip” भन्ने दृष्टिकोण प्रभावकारी मानिन्छ। अर्थात्, साना करेक्सन वा पुलब्याकका क्रममा खरिद चासो पुनः सक्रिय हुने सम्भावना रहन्छ।

Chart 1

आशा लघुवित्तको साप्ताहिक चार्टअनुसार, अगस्ट २०१९ देखि अगस्ट २०२१ सम्म मूल्यमा स्पष्ट बुलिस प्रवृत्ति कायम रहेको देखिन्छ।

घट्दो प्रवृत्ति (Bearish Trend)

घट्दो प्रवृत्ति भन्नाले बजारमा मूल्य क्रमशः तलतर्फ झर्दै जाने अवस्थालाई बुझिन्छ। यस्तो प्रवृत्तिमा मूल्यले प्रायः लोअर हाई (Lower High) तथा लोअर लो (Lower Low) हरुको शृंखला निर्माण गर्दछ। अर्थात, प्रत्येक नयाँ उच्च बिन्दु अघिल्लो उच्च बिन्दुभन्दा तल र प्रत्येक नयाँ न्यून बिन्दु अघिल्लो न्यून बिन्दुभन्दा अझ तल रहन्छ। यो संरचनाले बजारमा आपूर्तिको दबाब मागभन्दा बलियो रहेको संकेत गर्दछ।

बेयरिश प्रवृत्तिको मनोवैज्ञानिक पक्षमा निराशा, डर, सावधानी तथा पूँजी संरक्षणको मानसिकता प्रमुख रूपमा देखिन्छ। बजार सहभागीहरू अल्पकालीन उछाललाई पनि स्थायी सुधारका रूपमा होइन, बरु अस्थायी र्यालीका रूपमा हेर्ने प्रवृत्ति राख्दछन्। त्यसैले यस्तो अवस्थामा “Sell the Rally” भन्ने दृष्टिकोण बढी उपयुक्त मानिन्छ। अर्थात्, साना सुधारात्मक उछालहरू बिक्रीको अवसर बन्न सक्छन्।

Chart 2

एनआईसी एशिया बैंकको मासिक चार्टअनुसार, डिसेम्बर २०२१ देखि अप्रिल २०२६ सम्म मूल्यमा स्पष्ट घट्दो प्रवृत्ति कायम रहेको देखिन्छ।

दिशाहीन प्रवृत्ति (Sideways / Range-bound Trend)

दिशाहीन प्रवृत्ति भन्नाले बजारमा मूल्यले कुनै स्पष्ट बढ्दो वा घट्दो दिशा नलिई निश्चित दायरा (Range) भित्र तलमाथि गरिरहने अवस्थालाई जनाउँछ। यस्तो अवस्थामा मूल्यमा न त निरन्तर हायर हाई र हायर लोको शृंखला देखिन्छ, न त लोअर हाई र लोअर लोको स्पष्ट शृंखला नै देखिन्छ। बरु, मूल्यले प्रायः समर्थन (Support) र प्रतिरोध (Resistance) को क्षितिजीय रेञ्जभित्र दोहोरिने चाल देखाउँछ।

यस चरणमा बजारको मनोविज्ञान प्रायः अन्योलपूर्ण, तटस्थ वा पर्ख र हेर प्रकृतिको हुन्छ। माग र आपूर्ति दुवै पक्षहरु तुलनात्मक रूपमा सन्तुलित देखिन्छन्। न त खरिदकर्ताहरु पूर्ण रूपमा हावी हुन्छन्, न त विक्रेताहरु नै। परिणामस्वरूप बजारमा स्पष्ट दिशात्मक उर्जाको अभाव देखिन्छ र मूल्य निश्चित दायराभित्र नै तलमाथि चल्न थाल्छ।

Chart 3

एनएमबी बैंकको साप्ताहिक चार्टअनुसार, जुलाई २०२४ देखि अप्रिल २०२६ सम्म यसको मूल्य करिब २२० देखि २७० को सिमित दायराभित्र साइडवेज रूपमा तलमाथि भइरहेको देखिन्छ।

यी प्रवृत्तिहरू बजारमा विद्यमान माग र आपूर्तिको सन्तुलन वा असन्तुलनको परिणाम हुन्। प्राविधिक विश्लेषणको प्रमुख उद्देश्य नै प्रचलित प्रवृत्तिको पहिचान गर्नु र सोही प्रवृत्तिसँग तालमेल मिलाएर कारोबार निर्णय लिनु हो।

१.१.३. बजार मूल्य ढाँचाहरू दोहोरिन्छन्

प्राविधिक विश्लेषणको एक आधारभूत मान्यता अनुसार बजारमा देखापर्ने मूल्य ढाँचाहरू (Price Patterns) समयक्रमसँगै पुनः दोहोरिने प्रवृत्ति राख्छन् । यसको मूल कारण मानव मनोविज्ञानको तुलनात्मक स्थायित्व हो। बजारका सहभागीहरू समय, प्रविधि वा कारोबारको माध्यम परिवर्तन भए पनि डर (Fear), लोभ (Greed), आशा (Hope) तथा निराशा (Despair) जस्ता भावनात्मक प्रतिक्रियाबाट प्रेरित भइरहन्छन्। फलस्वरूप, ती भावनात्मक अवस्थाहरूले सिर्जना गर्ने माग तथा आपूर्तिको असन्तुलन मूल्य चालमा समान प्रकारका संरचनाका रूपमा पुनः अभिव्यक्त हुने गर्दछ।

उदाहरणार्थ, तीव्र गिरावटपछि अत्यधिक निराशा र बिक्री दबाबको अन्त्यतिर डबल बटम, ह्यामर वा बुलिश इन्गल्फिङ जस्ता रिभर्सल संकेतहरू देखिन सक्छन् ; त्यसैगरी, स्थापित बढ्दो प्रवृत्तिका बीचमा अस्थायी विश्रामपछि फ्ल्याग, पेनान्ट वा ट्रायाङ्गल जस्ता कन्टिन्यूएशन ढाँचाहरू निर्माण हुन सक्छन्। यी संरचनाहरू केवल कुनै एक निश्चित समय-सीमामा मात्र सीमित रहँदैनन्, बरु मिनेट, घण्टा, दैनिक, साप्ताहिक तथा मासिक सबै टाइमफ्रेममा देखा पर्न सक्छन्।

यसै सन्दर्भमा, विभिन्न टाइमफ्रेममा प्रयोग हुने प्राविधिक सूचकहरू जस्तै मुभिङ एभरेज, RSI, MACD वा भोल्युम विश्लेषणले पनि समान प्रकृतिका ट्रेन्ड, मोमेन्टम, रिभर्सल तथा कन्टिन्यूएशन सम्बन्धी संकेतहरू प्रदान गर्न सक्छन्।

तसर्थ, प्राविधिक विश्लेषणको सन्दर्भमा इतिहास दोहोरिने प्रवृत्ति स्पष्ट रूपमा देखिन्छ। बजारमा अतीतमा देखिएका मूल्य चाल, ढाँचा (Patterns) तथा व्यवहारहरू पुनः वर्तमानमा अभिव्यक्त हुने भएकाले “इतिहास आफैमा दोहोरिन्छ (History Repeats Itself)” भन्ने सिद्धान्त प्राविधिक विश्लेषणको एक केन्द्रीय आधारका रूपमा स्थापित भएको छ।

१.२. प्राविधिक विश्लेषणको इतिहास (प्रारम्भिक चरण)

प्राविधिक विश्लेषण (Technical Analysis) आजको आधुनिक वित्तीय बजारमा अत्यन्तै लोकप्रिय विश्लेषण पद्धति हो। तर यसको विकास एकैचोटि भएको थिएन । प्राविधिक विश्लेषण करिब ४–५ सय वर्षको अवधिमा विभिन्न देश र व्यक्तिहरूको योगदानबाट क्रमशः विकसित भएको हो। यसको प्रारम्भिक चरण विशेष रूपमा मूल्य अभिलेख (Price Recording) र चार्टिङ (Charting) सँग सम्बन्धित थियो।

१.२.१. १६औँ शताब्दी – मूल्य अभिलेखको सुरुवात

१६औँ शताब्दीको उत्तरार्धतिर व्यापारीहरूले वस्तु तथा व्यापारिक सामग्रीहरूको मूल्य नियमित रूपमा अभिलेख गर्न थाले। विशेषगरी युरोपमा “चिट्टा टिकट” वा कारोबार अभिलेख (trade tickets) मार्फत दैनिक मूल्य र लेनदेनको विवरण राखिन्थ्यो।

यसले बजारमूल्य समयसँगै कसरी परिवर्तन हुन्छ भन्ने कुरा बुझ्न मद्दत गर्‍यो। मूल्यको इतिहास (Price History) राख्ने अभ्यासले भविष्यमा हुने सम्भावित परिवर्तनको अनुमान गर्न आधार तयार गर्‍यो। यही अभ्यासलाई प्राविधिक विश्लेषणको प्रारम्भिक रूप मानिन्छ, किनकि यसले “मूल्य नै सबैभन्दा महत्वपूर्ण सूचना हो” भन्ने अवधारणालाई जन्म दियो।

यस चरणमा विश्लेषण औपचारिक थिएन, तर मूल्यको नियमित अभिलेख राख्ने बानीले पछि चार्टिङ र ढाँचा (Patterns) अध्ययनको आधार तयार गर्‍यो।

१.२.२. १७औँ शताब्दी: बजार मनोविज्ञानको व्याख्या (जोसेफ डे ला भेगा)

१७औँ शताब्दीमा एम्स्टर्डम (Amsterdam) विश्वको प्रमुख व्यापारिक केन्द्रको रूपमा स्थापित थियो। एम्स्टर्डम स्टक एक्सचेन्ज संसारकै प्रारम्भिक संगठित स्टक एक्सचेन्ज मध्ये एक थियो। यस समयमा, हिरा व्यापारी जोसेफ डे ला भेगाले सेयर बजारको व्यवहार र मूल्य परिवर्तनको गहन अध्ययन गरे।

उनले सन् १६८८ मा “Confusion of Confusions” नामक पुस्तक प्रकाशित गरे, जुन सेयर बजार सम्बन्धी पहिलो पुस्तक मानिन्छ। यस पुस्तकमा उनले निम्न विषयहरूको विश्लेषण गरेका थिए:

  • बजारमा लोभ (Greed) र डर (Fear) ले मूल्य निर्धारणमा पार्ने प्रभाव।

  • मूल्यको उतार–चढावलाई अभिलेख गरी चार्टको रूपमा प्रस्तुत गर्ने प्रयास।

  • सट्टेबाजी (Speculation) र बजार मनोविज्ञान (Market Psychology) को प्रारम्भिक व्याख्या।

जोसेफ डे ला भेगाको योगदानले प्राविधिक विश्लेषणको एउटा महत्वपूर्ण पक्ष “मानव व्यवहार र मूल्यको सम्बन्ध” बुझ्न थप आधार तयार गर्यो।

१.२.३. १८औँ शताब्दी: क्यान्डलस्टिक चार्टको विकास (होम्बा मुनेहिसा)

१८औँ शताब्दीको प्रारम्भमा जापानको साकाटा (Sakata) निवासी धान व्यापारी होम्बा मुनेहिसा (Homma Munehisa) ले प्राविधिक विश्लेषणमा अतुलनीय योगदान पुर्याएका थिए । त्यस समय जापानमा धानको कारोबार अत्यधिक संगठित थियो। होम्बा मुनेहिसाले धानको दैनिक कारोबार मूल्यको विश्लेषण गर्दै एउटा नयाँ प्रणाली विकास गरे, जसलाई क्यान्डलस्टिक चार्ट (Candlestick Chart) भनिन्छ।

उनले विकास गरेको यस प्रणालीमा निम्न विशेषताहरू समावेश थिए।

  • चार्टिङ प्रणाली: उनले ओपन (Open), हाई (High), लो (Low) र क्लोज (Close) मूल्यको आधारमा क्यान्डलस्टिक चार्टको निर्माण गरे।

  • बजार मनोविज्ञान: उनले बजारमा विद्यमान मनोवैज्ञानिक अवस्थाको आधारमा मूल्य प्रवृत्ति (Trend) र विपरीत चाल (Reversal) पहिचान गर्ने तरिकाको विकास गरे।

१.२.४. क्यान्डलस्टिक चार्टको व्याख्या:

  • हरियो वा सेतो क्यान्डलले मूल्य वृद्धि (Bullish) देखाउँछ।

  • रातो वा कालो क्यान्डलले मूल्य गिरावट (Bearish) देखाउँछ।

  • क्यान्डलको शरीर (Body) र छायाँ (Shadow/Wick) ले बजारको शक्ति र कमजोरीलाई संकेत गर्दछ।

होम्बा मुनेहिसाद्वारा विकसित क्यान्डलस्टिक चार्ट आधुनिक सेयर बजार, विदेशी मुद्रा, कमोडिटी तथा क्रिप्टोकरेन्सी बजारमा समेत अत्यन्त प्रभावकारी उपकरणको रूपमा प्रयोग भइरहेको छ।

१.२.५. डाउ युग (Dow Era)

उन्नाइसौं शताब्दीको उत्तरार्ध, प्राविधिक विश्लेषणको इतिहासमा एउटा कोसेढुंगा सावित भयो। यस अवधिमा चार्ल्स डाउ (Charles Dow) ले गरेको योगदानले प्राविधिक विश्लेषणलाई एउटा व्यवस्थित सैद्धान्तिक आधार प्रदान गर्यो। चार्ल्स डाउलाई प्राविधिक विश्लेषणको पितामह (Father of Technical Analysis) का रूपमा समेत सम्मान गरिन्छ।

१. डाउ जोन्स एण्ड कम्पनीको स्थापना

सन् १८८० को दशकमा पत्रकार चार्ल्स डाउ (Charles Dow) र एडवर्ड जोन्स (Edward Jones) ले मिलेर एउटा वित्तीय सूचना सेवा कम्पनीको स्थापना गरे, जसलाई डाउ जोन्स एण्ड कम्पनी (Dow Jones & Company) भनिन्छ। यस कम्पनीको प्राथमिक उद्देश्य लगानीकर्ताहरूलाई बजारको विश्वसनीय, सटीक र समयसापेक्ष सूचना उपलब्ध गराउनु थियो।

यस क्रममा सन् १८८३ मा उनीहरूले “कस्टमर्स आफ्टरनून लेटर” (Customers’ Afternoon Letter) नामक एउटा हातले लेखिएको बुलेटिनको प्रकाशन सुरु गरे। यस बुलेटिनको मुख्य आकर्षण चार्ल्स डाउले तयार पारेको पहिलो सूचकांक थियो, जसलाई “रेलरोड एभरेज” (Railroad Average) भनिन्थ्यो। त्यस समयमा अमेरिकी अर्थतन्त्रमा रेलमार्ग कम्पनीहरूको प्रभुत्व थियो र तिनलाई अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिइन्थ्यो। रेलरोड एभरेजले प्रमुख रेलमार्ग कम्पनीहरूको सेयर मूल्यको औसत निकालेर समग्र आर्थिक गतिविधिको दिशा देखाउने प्रयास गर्थ्यो ।

२. द वाल स्ट्रिट जर्नलको सुरुवात

८ जुलाई १८८९ मा डाउ जोन्स एण्ड कम्पनीले एउटा ऐतिहासिक कदम चाल्दै “द वाल स्ट्रिट जर्नल” (The Wall Street Journal) को पहिलो संस्करण प्रकाशित गर्यो। चार्ल्स डाउ यस पत्रिकाका संस्थापक सम्पादक (Founding Editor) थिए। यो पत्रिका आज विश्वको सर्वाधिक प्रतिष्ठित र प्रभावशाली दैनिक वित्तीय पत्रिकाका रूपमा स्थापित छ।

चार्ल्स डाउले आफ्नो सम्पादकीय लेखमार्फत बजारको चाल, मूल्य प्रवृत्ति र समग्र आर्थिक अवस्थाको गहिरो विश्लेषण प्रस्तुत गर्थे। उनका यी लेखहरू पछि गएर डाउ थ्योरी (Dow Theory) को आधार बने। उनले बजारका दैनिक गतिविधिलाई मात्र नभई तिनीहरूले संकेत गर्ने दीर्घकालीन आर्थिक परिवर्तनलाई बुझ्ने कोसिस गरेका थिए ।

३. डाउ जोन्स इन्डस्ट्रियल एभरेज (DJIA)

सन् १८९६ मा चार्ल्स डाउले अर्को महत्वपूर्ण सूचकांकको विकास गरे, जसलाई डाउ जोन्स इन्डस्ट्रियल एभरेज (Dow Jones Industrial Average – DJIA) भनिन्छ। यस सूचकांकमा सुरुवातमा अमेरिकाका १२ वटा प्रमुख औद्योगिक कम्पनीहरू समावेश थिए। यसले अमेरिकी औद्योगिक क्षेत्रको समग्र प्रदर्शनलाई प्रतिनिधित्व गर्ने उद्देश्य राखेको थियो।

यस सूचकांकको महत्व यसकारण पनि बढ्यो किनकि यसअघि विकसित “रेलरोड एभरेज” (जसलाई पछि ट्रान्सपोर्टेशन एभरेज भनियो) र नयाँ “इन्डस्ट्रियल एभरेज” बीचको अन्तरसम्बन्धले बजार विश्लेषणको एउटा नयाँ आयाम खोल्यो। यी दुई सूचकांकको गतिविधिले एक–अर्कालाई कसरी पुष्टि गर्छन् भन्ने अवलोकन नै पछि डाउ थ्योरीको मूल मान्यता बन्यो।

४. प्वाइन्ट एण्ड फिगर चार्ट (Point and Figure Chart)

चार्ल्स डाउले प्राविधिक विश्लेषणको अर्को महत्वपूर्ण उपकरण प्वाइन्ट एण्ड फिगर चार्ट (Point and Figure Chart) को पनि प्रारम्भिक प्रयोग गरेका थिए। यस चार्टको विशेषता यो हो कि यसले समयको अवधिलाई भन्दा मूल्यको परिवर्तनलाई प्राथमिकता दिन्छ।

Tasathi · Trading Library

Master the Technical Analysis प्राविधिक विश्लेषणमा महारत

Your complete guide to reading charts, identifying patterns, and making confident trading decisions.

  • In-depth chart patterns & indicators
  • Practical strategies for real markets
  • Beginner to advanced concepts covered
  • Suitable for stocks, forex & crypto

🛒 Get Your Copy Now

🔒 Secure checkout  ·  Instant access

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shopping Cart
Scroll to Top