अध्याय ३. डाउ थ्योरी (Dow Theory)
डाउ थ्योरीका मूल सिद्धान्त, प्रवृत्ति, भोल्युम पुष्टि, औसतहरूको पुष्टि र क्लोजिङ प्राइसको विश्लेषणात्मक महत्त्वको व्यवस्थित अध्ययन।
अध्याय ३. डाउ थ्योरी (Dow Theory)
यस अध्यायका मुख्य सिकाइ उद्देश्यहरू (Learning Objectives) निम्न अनुसार छन्:
डाउ थ्योरीका मूल सिद्धान्तहरूलाई आधुनिक प्राविधिक विश्लेषणको आधारका रूपमा बुझ्न।
बजारले उपलब्ध सूचना, अपेक्षा, माग–आपूर्ति र अनपेक्षित घटनालाई मूल्यमा कसरी समेट्छ भन्ने व्याख्या गर्न।
बुलिस, बेयरिश र साइडवेज प्रवृत्तिहरू तथा प्राथमिक, द्वितीय र अल्पकालीन चालहरू पहिचान गर्न।
औसतहरूको पुष्टि, भोल्युम पुष्टि र क्लोजिङ प्राइसको विश्लेषणात्मक महत्त्व बुझ्न।
डाउ थ्योरी (Dow Theory)
चार्ल्स डाउले आफ्नो जीवनकालमा कहिल्यै पनि “डाउ थ्योरी” नामक कुनै सिद्धान्त प्रतिपादन गरेनन्। उनले आफ्नो सम्पादकीयमा व्यक्त गरेका विचार र अवलोकनहरूलाई उनको मृत्युपश्चात् उनका अनुयायीहरूले संकलन गरी व्यवस्थित सिद्धान्तका रूपमा विकास गरे। विलियम पी. ह्यामिल्टन (William P. Hamilton), रोबर्ट रिया (Robert Rhea) र ई. जर्ज शेफर (E. George Schaefer) डाउ थ्योरीलाई व्यवस्थित गर्ने प्रमुख व्यक्तित्वहरू हुन्। डाउ थ्योरीका मुख्य आधारहरू निम्नानुसार छन्:
३.१. मूल्यमा सबै कुरा प्रतिबिम्बित हुन्छ (Market Discounts Everything)
डाउ थ्योरीको प्रमुख आधारभूत मान्यता अनुसार बजार मूल्यले उपलब्ध सम्पूर्ण सूचना तथा भविष्यप्रतिको अपेक्षालाई समेट्छ। कुनै पनि सेयर वा वित्तीय साधनको वर्तमान मूल्यमा आर्थिक तथ्याङ्क, समाचार, कम्पनीसम्बन्धी विवरण, सरकारी नीति–नियम, राजनीतिक अवस्था तथा लगानीकर्ताको मनोविज्ञानसमेत समावेश हुन्छ।
बजार मूल्य माग (Demand) र आपूर्ति (Supply) को अन्तरक्रियाबाट निर्धारण हुन्छ।
मागमा वृद्धि हुने कुनै पनि कारकले मूल्यलाई बढ्दो दिशामा लैजान्छ।
आपूर्तिमा वृद्धि हुने कारकले मूल्यलाई घट्दो दिशामा धकेल्छ।
यस दृष्टिकोणबाट हेर्दा मूल्य वृद्धि मागको प्रभुत्वको संकेत हो भने मूल्य गिरावट आपूर्तिको प्रभुत्वको संकेत हो। त्यसैले बजार मूल्यको वैज्ञानिक र व्यवस्थित विश्लेषण गर्न सके बजारमा कुन पक्ष, माग वा आपूर्ति, प्रमुख रूपमा हाबी छ भनि स्पष्ट रूपमा पहिचान गर्न सकिन्छ।
वास्तविक र कृत्रिम माग–आपूर्ति
माग तथा आपूर्ति दुवै वास्तविक (Fundamental) वा कृत्रिम (Speculative) हुन सक्छन्।
वास्तविक माग-आपूर्ति कम्पनीको आम्दानी, आर्थिक वृद्धि, ब्याजदर, उत्पादन तथा उपभोग जस्ता आधारभूत तत्वबाट उत्पन्न हुन्छ।
कृत्रिम माग-आपूर्ति अफवाह, चलखेल, सट्टेबाजी, भीड मनोविज्ञान वा अस्थायी बजार गतिविधिबाट सिर्जना हुनसक्छ।
तर कारण जे जस्तो भए पनि, यदि भविष्यमा मूल्य बढ्ने सम्भावना छ भने त्यसको प्रारम्भिक संकेत मूल्य चार्टमा देखिन थाल्छ। त्यसैगरी मूल्य घट्ने सम्भावना भएमा पनि चार्टले सो संकेत प्रदान गर्दछ। यही कारणले प्राविधिक विश्लेषणमा मूल्य र भोल्युमलाई प्राथमिक स्रोतका रूपमा लिइन्छ।
सन्तुलन अवस्था र सीमित दायरा
जब माग र आपूर्ति सन्तुलित अवस्थामा हुन्छन्, बजार मूल्य निश्चित दायराभित्र (Trading Range) सीमित रहन्छ। यस्तो अवस्थामा मूल्यमा उल्लेखनीय ट्रेन्ड विकास हुँदैन। तर सन्तुलन भंग हुने बित्तिकै अर्थात् माग वा आपूर्तिमा असन्तुलन उत्पन्न हुँदा बजारले नयाँ ट्रेन्डको सुरुवात गर्दछ।
अनपेक्षित घटनाको प्रभाव
प्राकृतिक विपत्ति, युद्ध, आतंककारी हमला, महामारी वा अन्य आकस्मिक घटनाहरूले बजारमा तुरुन्त प्रभाव पार्न सक्छन्। यस्ता घटनाहरू उत्पन्न हुने बित्तिकै लगानीकर्ताको धारणा परिवर्तन हुन्छ र मूल्यले ती घटनालाई छिटो प्रतिबिम्बित गर्न थाल्दछ।यसकारण केवल समाचार वा सूचनाको विश्लेषणमा निर्भर हुनुभन्दा मूल्यको प्रत्यक्ष अध्ययन गर्नु अधिक वस्तुपरक र व्यावहारिक दृष्टिकोण मानिन्छ।
मूल्य र अपेक्षाको संकेत
वर्तमान मूल्यले भविष्यप्रतिको अपेक्षालाई समेत झल्काउँछ।
बढ्दो मूल्यले सकारात्मक समाचार वा अनुकूल परिस्थितिको अपेक्षा गरिएको संकेत गर्दछ।
घट्दो मूल्यले नकारात्मक समाचार वा प्रतिकूल अवस्थाको अपेक्षा गरिएको संकेत गर्दछ।
यसरी “एक मूल्यमा सबै कुरा प्रतिबिम्बित हुन्छ” भन्ने मान्यताले डाउ थ्योरीलाई मूल्य-केन्द्रित विश्लेषणात्मक दृष्टिकोण प्रदान गर्दछ। व्यवस्थित रूपमा मूल्यको अध्ययन गर्न सके बजारको वास्तविक दिशा र प्रवृत्तिलाई स्पष्ट रूपमा बुझ्न सकिन्छ, जसले लगानी निर्णयलाई थप वैज्ञानिक र विश्वसनीय बनाउँछ।
३.२. औसतहरूले एक-अर्कालाई पुष्टि गर्नुपर्छ
डाउ थ्योरीको दोस्रो सिद्धान्त अनुसार, कुनै पनि बजार प्रवृत्ति चाहे बुलिस होस वा वियरिस तब मात्र विश्वसनीय र दिगो मानिन्छ, जब प्रमुख बजार औसतहरूले एक–अर्काको दिशालाई पुष्टि (confirmation) गर्दछन्। विभिन्न सूचकहरूबीचको यस प्रकारको सहसम्बन्ध नै बजारको वास्तविक दिशा र स्वास्थ्यको आधार हुने गर्दछ।
चार्ल्स डाउले आफ्नो विश्लेषणको लागि दुईवटा प्रमुख औसतहरू विकसित गरेका थिए:
डाउ जोन्स इन्डस्ट्रियल एभरेज (Dow Jones Industrial Average)
डाउ जोन्स ट्रान्सपोर्टेसन एभरेज (Dow Jones Transportation Average)
उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको प्रारम्भिक परिप्रेक्ष्यमा, औद्योगिक औसतले उत्पादन एवं व्यावसायिक गतिविधिको प्रतिनिधित्व गर्थ्यो भने यातायात औसतले ती उत्पादनहरूको ढुवानी तथा वितरण प्रणालीको प्रतिनिधित्व गर्दथ्यो। यस आर्थिक तर्कअनुसार, यदि उद्योगहरूले आफ्नो उत्पादन बढाइरहेका छन् भने, ती वस्तुहरूलाई बजारसम्म पुर्याउन ढुवानी गतिविधि पनि समानान्तर रूपमा विस्तार हुनु आवश्यक हुन्छ। त्यसकारण, कुनै पनि दिगो आर्थिक वृद्धि वा बजार प्रवृत्तिको लागि यी दुई आधारभूत सूचकहरूको दिशा एकआपसमा मिल्नु अनिवार्य मानिन्छ।
बुलिस बजार
समग्र बुलिस बजारको दिगो स्थापना हुन्का लागि प्रमुख सूचक औसतहरू (Major Averages) ले सेकेण्डरी प्रवृत्तिको अवधिमा लगभग एकैसमयमा हायर हाई (Higher High) हरू निर्माण गर्न आवश्यक हुन्छ। यदि केवल कुनै एक क्षेत्र (Sector) वा एक मात्र औसतले वृद्धि देखाउँछ तर अन्य सूचक औसतहरूले त्यसलाई पुष्टिकरण (Confirmation) प्रदान गर्न असफल हुन्छन् भने, त्यसलाई प्रवृत्तिको अपर्याप्त व्यापकता (Lack of Breadth) का रूपमा व्याख्या गरिन्छ। यस्तो अवस्थामा बुलिस ट्रेन्डको विश्वसनीयता कमजोर बन्न गई सम्भावित ट्रेन्ड निरन्तरतामाथि शंका उत्पन्न हुन्छ।
बेयरिश बजार
यसको विपरीत, बेयरिश बजारको विश्वसनीय स्थापना हुन्का लागि प्रमुख सूचक औसतहरू (Major Averages) ले सेकेण्डरी प्रवृत्तिको अवधिमा लगभग एकैसमयमा लोअर लो (Lower Low) हरू निर्माण गर्न आवश्यक हुन्छ। यदि कुनै एक औसतले नयाँ न्यूनतम स्तर (New Low) बनाउँदै गिरावटको संकेत दिन्छ तर अर्को औसतले त्यसलाई पुष्टिकरण (Confirmation) नगरी स्थिर रहन्छ वा उल्टै माथिल्लो दिशातर्फ उन्मुख हुन्छ भने, त्यस्तो अवस्थालाई परिपक्व वा प्रमाणित बेयरिश ट्रेन्डका रूपमा स्वीकार गर्न उपयुक्त मानिँदैन।
असहमति (Divergence)
जब विभिन्न औसतहरू फरक-फरक दिशामा गतिशील हुन्छन्, त्यस अवस्थालाई प्राविधिक भाषामा असहमति (डाइभर्जेन्स) भनिन्छ। यस्तो अवस्थाले निम्न कुराहरुको संकेत गर्दछ:
विद्यमान प्रवृत्ति कमजोर हुँदै गएको छ र उक्त ट्रेन्डको आयु सीमित हुन सक्दछ।
बजार एक निश्चित दायराभित्र सीमित (रेञ्ज-बाउन्ड) अवस्थामा प्रवेश गरिरहेको छ वा कन्सोलिडेसनको चरणमा रहेको छ।
निकट भविष्यमा प्रवृत्ति परिवर्तन हुने सम्भावना प्रबल भएको छ।
डाउ थ्योरीले असहमतिलाई सम्भावित जोखिमको संकेतका रूपमा व्याख्या गर्दछ, जसमा लगानीकर्ता तथा विश्लेषकहरूले अत्यधिक सावधानी अपनाउनु आवश्यक हुन्छ।
लगभग एकैसमयमा
यस सिद्धान्तले सबै औसतहरू एकै दिन वा एकै क्षणमा एउटै दिशामा चल्नुपर्दछ भन्ने अर्थ राख्दैन। बरु, उचित समय अन्तरालभित्र (केही दिनदेखि केही सातासम्म) एक-अर्कालाई अनुसरण गर्दै एउटै दिशामा अग्रसर हुनुपर्दछ भन्ने आशय व्यक्त गर्दछ। यदि अस्वाभाविक रूपले लामो समयसम्म एक औसतले अर्को औसतको दिशा पुष्टि गर्न सक्दैन भने, प्रचलित प्रवृत्तिको विश्वसनीयता स्वतः कमजोर मानिन्छ।
निष्कर्ष
डाउ थ्योरीको दोस्रो सिद्धान्तले बजार विश्लेषणमा बहु-सूचक पुष्टि (मल्टिपल इन्डिकेटर कन्फर्मेसन) र व्यापक बजार सहभागिता (ब्रोड मार्केट पार्टिसिपेसन) को अवधारणालाई स्थापित गर्दछ। यस सिद्धान्तको मूल अभिप्राय यो हो कि कुनै एकल सूचक वा सेक्टरको प्रदर्शनले समग्र बजारको सही चित्र प्रस्तुत गर्न सक्दैन। वास्तविक र विश्वसनीय बजार प्रवृत्ति तब मात्र स्थापित हुन्छ जब बजारका आधारभूत खम्बाहरू (जस्तै नेप्से, बैकिङ्ग, हाईड्रो आदि) संगसंगै एउटै दिशामा अघि बढ्दछन्। यसले विश्लेषकहरूलाई गलत संकेतहरू (फल्स सिग्नल) बाट बच्न र प्रवृत्तिको प्रमाणिकता परीक्षण गर्न एउटा मजबूत विश्लेषणात्मक ढाँचा प्रदान गर्दछ।
३.३. बजार मूल्यहरू प्रवृत्तिमा अघि बढ्छन
डाउ थ्योरीको तेस्रो सिद्धान्तले बजार विश्लेषणको एउटा आधारभूत मान्यता स्थापित गर्दछ। बजार मूल्यहरू सधैं एउटा निश्चित प्रवृत्ति (ट्रेन्ड) भित्र रहेर अघि बढ्दछन्। एक पटक स्थापित प्रवृत्ति तबसम्म कायम रहन्छ जबसम्म स्पष्ट परिवर्तन हुने संकेत प्राप्त हुँदैन। यस सिद्धान्तले प्रवृत्तिलाई प्राविधिक विश्लेषणको केन्द्रीय अवधारणाका रूपमा स्थापित गरेको छ।
बजार प्रवृत्तिको पहिचान मूल्यले चार्टमा बनाउने उतारचढाव बिन्दुहरू (स्विङ हाई र स्विङ लो) को व्यवस्थित विश्लेषणबाट गरिन्छ। यी बिन्दुहरूको क्रमिक संरचनाले नै बजारको दिशा, गति र सामर्थ्य निर्धारण गर्दछ।
क. बुलिस प्रवृत्ति (अपट्रेन्ड)
जब बजार मूल्यहरूले क्रमशः हायर हाई र हायर लोको श्रृंखला निर्माण गर्दछन्, त्यस्तो अवस्थालाई बुलिस प्रवृत्ति भनिन्छ।
यस संरचनाको विश्लेषणले निम्न तथ्यहरू संकेत गर्दछ:
प्रत्येक नयाँ स्विङ हाई (पीक) अघिल्लो स्विङ हाईभन्दा माथि रहेको हुन्छ,
प्रत्येक सुधार (करेक्सन) अघिल्लो न्यून बिन्दुभन्दा माथि नै समाप्त हुन्छ,
बजारमा मागको प्रभाव आपूर्तिभन्दा निरन्तर बलियो रहन्छ,
खरिदकर्ताहरू (बुल) को मनोबल उच्च रहन्छ र उनीहरूले घट्दो मूल्यमा पनि खरिद गर्ने प्रवृत्ति देखाउँछन्।
ख. बेयरिश प्रवृत्ति (डाउनट्रेन्ड)
यसको विपरीत, जब बजार मूल्यहरूले क्रमशः लोअर हाई र लोअर लोको श्रृंखला निर्माण गर्दछन्, त्यस्तो अवस्थालाई बेयरिश प्रवृत्ति भनिन्छ।
यस अवस्थामा:
प्रत्येक उछाल (र्याली) अघिल्लो उच्च बिन्दुभन्दा तल नै समाप्त हुन्छ,
प्रत्येक गिरावटले नयाँ न्यून स्तरको निर्माण गर्दछ,
बजारमा आपूर्तिको प्रभाव मागभन्दा प्रबल हुन्छ,
विक्रेता (बेयर) हरूको प्रभुत्व रहन्छ र उनीहरूले बढ्दो मूल्यमा पनि बिक्री गर्ने प्रवृत्ति देखाउँछन्।
ग. दिशाहिन प्रवृत्ति (साइडवेज ट्रेन्ड)
यदि मूल्यहरूले स्पष्ट रूपमा हायर हाई–हायर लो वा लोअर हाई–लोअर लोको क्रमिक संरचना निर्माण गर्न सक्दैनन् र मिश्रित संरचना देखाउँछन् भने, बजार साइडवेज वा रेञ्ज–बाउन्ड अवस्थामा रहेको मानिन्छ।
यस अवस्थामा:
बजारमा माग र आपूर्ति लगभग सन्तुलित अवस्थामा रहन्छन्,
कुनै स्पष्ट दिशात्मक प्रवृत्ति स्थापित हुँदैन,
बजार कन्सोलिडेसन चरणमा रहन्छ,
मूल्यहरू निश्चित माथिल्लो र तल्लो सीमाभित्र दोहोरिरहन्छ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको साप्ताहिक चार्ट अवलोकन गर्दा फेब्रुअरी २०१९ देखि अप्रिल २०२१ सम्म मूल्य संरचनामा स्पष्ट रूपमा हायर हाई (Higher High – HH) तथा हायर लो (Higher Low – HL) को क्रम देखिन्छ, जसले उक्त अवधिमा सुदृढ बुलिश प्रवृत्ति कायम रहेको संकेत गर्दछ। त्यसपश्चात अप्रिल २०२१ देखि मार्च २०२३ सम्म चार्टमा लोअर लो (Lower Low – LL) तथा लोअर हाई (Lower High – LH) हरूको निरन्तर श्रृङ्खला विकसित भएको देखिन्छ, जसले बजारको संरचना स्पष्ट रूपमा बेयरिश चरणमा प्रवेश गरेको पुष्टि गर्दछ। तर, त्यसपछि देखिएको पछिल्लो अवधिमा भने मूल्य चालले कुनै एकरूप दिशात्मक संरचना कायम राख्न सकेको छैन बरु चार्टमा मिश्रित हाई तथा लोहरूको श्रृङ्खला विकसित भएको देखिन्छ। यस्तो अवस्थाले बजार हाल स्पष्ट ट्रेन्डको अभावमा संक्रमणकालीन (Transitional) वा साइडवेज–कन्सोलिडेशन (Sideways Consolidation) प्रकृतिको चरणमा रहेको संकेत गर्दछ, जहाँ न त क्रेताहरू पूर्ण रूपमा नियन्त्रणमा छन्, न त विक्रेताहरू नै निर्णायक रूपमा हावी देखिन्छन्।
३.४. भोल्युमले प्रवृत्तिको पुष्टि गर्नुपर्छ
भोल्युमले कुनै निश्चित समयावधिमा भएको कुल कारोबार परिमाण (खरिद–बिक्री भएको सेयर संख्या) लाई जनाउँदछ। यसले बजारमा लगानीकर्ताहरूको सहभागिताको स्तर र बजारप्रति उनीहरूको विश्वासको मापन प्रदान गर्दछ। उच्च भोल्युमले बजारमा सक्रिय सहभागिता, लगानीकर्ताको उत्साह र विश्वासलाई संकेत गर्दछ भने न्यून भोल्युमले सीमित सहभागिता, अनिश्चितता वा अनिर्णयको स्थिति झल्काउँदछ।
भोल्युम र प्रवृत्तिको सम्बन्ध
डाउ थ्योरीको यस सिद्धान्तअनुसार, कुनै पनि प्रमुख प्रवृत्ति (ट्रेन्ड) व्यापक र ठोस सहभागिताबाट समर्थित हुनुपर्दछ। मूल्य परिवर्तन मात्र प्रवृत्ति निर्धारणको पर्याप्त आधार हुन सक्दैन। बजार मूल्यका प्रवृत्तिहरू पर्याप्त मात्रामा कारोबार भोल्युमद्वारा पुष्टि हुनु अनिवार्य हुन्छ। यदि मूल्य परिवर्तनलाई आवश्यक भोल्युमले समर्थन गरेको छैन भने, त्यस्तो परिवर्तन दीर्घकालीन रूपमा दिगो र विश्वसनीय नहुन सक्दछ।
बुलिस प्रवृत्तिको अवधिमा भोल्युम र मूल्यबीच सकारात्मक सम्बन्ध देखिनुपर्दछ:
मूल्य वृद्धि (अपट्रेन्ड) हुँदा कारोबार भोल्युम पनि वृद्धि हुनुपर्दछ। यसले बजारमा खरिदकर्ताको प्रभुत्व रहेको र उनीहरु महँगो मूल्यमा पनि खरिद गर्न इच्छुक रहेको जनाउँछ।
अस्थायी सुधारात्मक गिरावट (करेक्सन) को समयमा भोल्युम तुलनात्मक रूपमा कम हुनुपर्दछ। यसले गिरावटलाई खरिदकर्ताले राम्रो मूल्यमा खरिद गर्ने अवसरका रूपमा लिएको संकेत गर्दछ।
यस प्रकारको मूल्य–भोल्युम संरचनाले बजारमा खरिदकर्ताको प्रभुत्व, व्यापक लगानीकर्ता सहभागिता र बुलिश प्रवृत्तिको दिगोपनाको पुष्टि गर्दछ। यसको विपरीत, यदि मूल्य बढिरहेको छ तर भोल्युम निरन्तर घटिरहेको छ भने, त्यो मूल्य वृद्धि सीमित सहभागिताबाट प्रेरित भएको मानिन्छ, जसले प्रवृत्तिमा सम्भावित कमजोरीको संकेत दिन्छ।
बेयरिश प्रवृत्तिको अवस्थामा भोल्युम र मूल्यबीच नकारात्मक प्रवृत्ति देखिनुपर्दछ:
मूल्य गिरावट (डाउनट्रेन्ड) हुँदा भोल्युम वृद्धि हुनुपर्दछ। यसले बजारमा विक्रेताको प्रभुत्व रहेको र घट्दो मूल्यमा पनि बिक्री गर्ने दबाब जारी रहेको संकेत गर्दछ।
अस्थायी उछाल (र्याली) को समयमा भोल्युम घट्नुपर्दछ। यसले उछाललाई बिक्रीको अवसरका रूपमा मात्र लिइएको र नयाँ खरिदकर्ताको प्रवेश नभएको संकेत गर्दछ।
गिरावटसँगै भोल्युम वृद्धि हुनु बेयरिश प्रवृत्तिको प्रामाणिकता र व्यापक सहभागिताको पुष्टि मानिन्छ। यदि मूल्य घटिरहेको छ तर भोल्युम न्यून छ भने, त्यो गिरावट कमजोर, अस्थायी वा सीमित सहभागितामा आधारित हुनसक्छ, जसले सम्भावित प्रवृत्ति परिवर्तनको संकेत गर्ने गर्दछ।
मूल्य–भोल्युम असहमति (डाइभर्जेन्स)
डाउ थ्योरीले मूल्य र भोल्युमबीचको असहमतिलाई विशेष महत्त्व दिन्छ। जब मूल्य र भोल्युमबीच सामान्य सम्बन्ध भंग हुन्छ, त्यसलाई प्राविधिक विश्लेषणमा डाइभर्जेन्स (असहमति) भनिन्छ:
बुलिस डाइभर्जेन्स: मूल्यले नयाँ न्यून स्तर बनाउँदा भोल्युम घट्नु (पुश्टि नहुनु) ले गिरावटको गति कमजोर हुँदै गएको र सम्भावित प्रवृत्ति परिवर्तनको संकेत दिन सक्छ।
बेयरिश डाइभर्जेन्स: मूल्यले नयाँ उच्च स्तर बनाउँदा भोल्युम घट्नु वा पर्याप्त नहुनुले बुलिस प्रवृत्ति कमजोर हुँदै गएको र सम्भावित गिरावटको प्रारम्भिक चेतावनी दिन सक्छ।
यस्तो असहमतिले विद्यमान प्रवृत्तिमा व्यापक सहभागिताको कमी रहेको संकेत गर्दछ, जसले प्रवृत्ति परिवर्तनको सम्भावना प्रबल बनाऊदछ।
निष्कर्ष
डाउ थ्योरीको चौथो सिद्धान्तले मूल्य र भोल्युमबीचको सामञ्जस्यपूर्ण सम्बन्धलाई प्रवृत्तिको प्रामाणिकता परीक्षण गर्ने आधारभूत साधनका रूपमा प्रस्तुत गर्दछ:
बुलिस प्रवृत्तिमा मूल्य वृद्धि भोल्युम वृद्धिद्वारा समर्थित हुनुपर्दछ।
बेरिस प्रवृत्तिमा मूल्य गिरावट भोल्युम वृद्धिद्वारा पुष्टि हुनुपर्दछ।
मूल्य र भोल्युमबीचको असहमतिले प्रवृत्तिको कमजोरी र सम्भावित परिवर्तनको संकेत दिन्छ।
यसरी, भोल्युम विश्लेषणले बजार प्रवृत्तिको बल, व्यापक लगानीकर्ताहरुको सहभागिता तथा सम्भावित जोखिम र कमजोरीहरूको पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। यसले विश्लेषकहरुलाई मूल्य चार्ट मात्र नभई कारोबारको गहिराइ (डेप्थ) समेत अध्ययन गर्न प्रेरित गर्दछ र बजारको वास्तविक चित्र उजागर गर्न मद्दत पुर्याउँछ।
डाउ थ्योरी: प्रवृत्ति र भोल्युमको एकीकृत सारांश
| विषय | बुलिस प्रवृत्ति (Bullish Trend) | बेयरिश प्रवृत्ति (Bearish Trend) | साइडवेज (Sideways) |
|---|---|---|---|
| मूल्य संरचना | हायर हाई (HH) र हायर लो (HL) को श्रृंखला। | लोअर हाई (LH) र लोअर लो (LL) को श्रृंखला। | निश्चित दायरा (Range) भित्र मूल्यको उतारचढाव। |
| मुख्य विशेषता | प्रत्येक नयाँ हाई अघिल्लोभन्दा माथि। | प्रत्येक नयाँ लो अघिल्लोभन्दा तल। | माग र आपूर्ति सन्तुलित। |
| भोल्युमको भूमिका | मूल्य बढ्दा भोल्युम बढ्ने र घट्दा (करेक्सन) घट्ने। | मूल्य घट्दा भोल्युम बढ्ने र बढ्दा (र्याली) घट्ने। | भोल्युम प्रायः न्यून वा स्थिर। |
| मनोविज्ञान | खरिदकर्ताहरू (Bulls) आक्रामक र आशावादी। | बिक्रेताहरू (Bears) हावी र निराशावादी। | लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा। |
| डाइभर्जेन्स संकेत | मूल्य बढ्दा भोल्युम घटेमा: कमजोरीको संकेत। | मूल्य घट्दा भोल्युम घटेमा: गिरावट रोकिने संकेत। | ब्रेकआउटको समयमा उच्च भोल्युम आवश्यक। |
३.५. बजार चालहरू तीन प्रकारका हुन्छन्
डाउ थ्योरीको पाँचौँ सिद्धान्तअनुसार बजारमा एकै समयमा तीन प्रकारका चालहरू (Movements) सक्रिय रहन्छन्:
प्राथमिक चाल (Primary Movement),
द्वितीय चाल (Secondary Movement) र
अल्पकालीन वा क्षणिक चाल (Minor Movement)।
यी तीनवटै चालहरू पृथक भए तापनि व्यवहारतः एकअर्कासँग अन्तर्सम्बद्ध रूपमा एउटै समयमा बजारमा क्रियाशील रहन्छन्। यसमध्ये प्राथमिक चालले बजारको व्यापक तथा मूल दिशा निर्धारण गर्दछ, जसले दीर्घकालीन बुलिश वा बेयरिश प्रवृत्तिको प्रतिनिधित्व गर्दछ। द्वितीय चालले उक्त प्राथमिक प्रवृत्तिभित्र उत्पन्न हुने मध्यम अवधिका करेक्सन, प्रतिक्रियात्मक उछाल वा प्रतिगामी चालहरूलाई जनाउँछ, जबकि माइनर चालले दैनिक वा अत्यन्त अल्पकालीन उतारचढावहरूको अभिव्यक्ति गर्दछ। अतः बजारको वास्तविक संरचना बुझ्नका लागि यी तीनै तहका चालहरूलाई पृथक रूपमा मात्र होइन, तिनका पारस्परिक सम्बन्धसहित समग्र रूपमा विश्लेषण गर्नु आवश्यक हुन्छ।
क. प्राथमिक चाल (प्राइमरी मुभमेन्ट)
प्राथमिक चाल (Primary Movement) बजारको सबैभन्दा व्यापक, प्रभावशाली तथा दीर्घकालीन प्रवृत्ति हो, जसले बजारको मूल दिशा निर्धारण गर्दछ। यही चालले बजार हाल बुलिश (Bullish) चरणमा छ वा बेयरिश (Bearish) चरणमा छ भन्ने आधारभूत संकेत प्रदान गर्दछ।
सामान्यतः प्राथमिक चाल एक वर्षदेखि धेरै वर्षसम्म एउटै दिशामा कायम रहन सक्छ, अर्थात् एकपटक स्थापित भएको प्रमुख प्रवृत्ति दीर्घ अवधिसम्म निरन्तर रहन सक्ने क्षमता राख्दछ। यस अर्थमा प्राथमिक चालले बजारको मुख्य प्रवृत्तिमात्र नभई दीर्घकालीन आर्थिक चक्र तथा लगानी मनोवृत्तिको समग्र दिशालाई समेत प्रतिनिधित्व गर्दछ।
यसको मूल्याङ्कन प्रायः मासिक, त्रैमासिक तथा वार्षिक चार्टहरूको विश्लेषणमार्फत गरिन्छ, किनकि यस्ता उच्च समय-सीमाले बजारको वास्तविक दीर्घकालीन संरचना अधिक स्पष्ट रूपमा देखाउँछन्। प्राथमिक चालको पहिचान विशेषतः दीर्घकालीन लगानीकर्ताहरूका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ, किनकि यसले बजारको आधारभूत दिशा संकेत गर्दै लगानी रणनीति निर्माण, पोर्टफोलियोको अभिमुखीकरण तथा दीर्घकालीन निर्णय प्रक्रियाका लागि मार्गदर्शन प्रदान गर्दछ।
ख. द्वितीय चाल (सेकेन्डरी मुभमेन्ट)
द्वितीय चाल (Secondary Movement) प्राथमिक चालभित्र विकसित हुने मध्यम अवधिको प्रतिगामी चाल हो, जसले प्रचलित प्राथमिक प्रवृत्तिको विपरीत दिशामा अस्थायी सुधार (Correction) वा उछाल (Rally) को सिर्जना गर्दछ। सामान्यतः यसको अवधि केही हप्तादेखि केही महिनासम्म रहन सक्छ।
डाउ थ्योरीअनुसार, द्वितीय चालले प्रायः अघिल्लो प्राथमिक चालको करिब एक-तिहाइदेखि दुई-तिहाइ सम्मको सुधार समेट्न सक्छ। सरल शब्दमा भन्नु पर्दा, द्वितीय प्रतिक्रियाले प्रायः प्राथमिक चालको करिब ३३ प्रतिशतदेखि ६६ प्रतिशतसम्म रिट्रेस हुने प्रवृत्ति देखाउँछ। यस अर्थमा, यो अत्यधिक मूल्यवृद्धि वा तीव्र गिरावटपछिको बजार समायोजन प्रक्रिया हो, जसले असन्तुलित मूल्य अवस्थालाई केही हदसम्म सन्तुलित बनाउने कार्य गर्दछ। साथै, द्वितीय चाललाई प्राथमिक प्रवृत्तिको स्वास्थ्य, आन्तरिक बल तथा दिगोपनाको परीक्षण गर्ने महत्त्वपूर्ण चरणका रूपमा पनि हेरिन्छ।
यसको विश्लेषण विशेषतः साप्ताहिक, पाक्षिक वा मध्यम समय-सीमाका चार्टहरूमार्फत प्रभावकारी रूपमा गर्न सकिन्छ। बुलिश प्राथमिक प्रवृत्तिमा द्वितीय चाल प्रायः करेक्सन वा अस्थायी गिरावटका रूपमा देखा पर्छ, भने बेयरिश प्राथमिक प्रवृत्तिमा यही चाल प्रतिक्रियात्मक उछाल वा र्यालीका रूपमा प्रकट हुन्छ। यही कारणले मध्यम अवधिका लगानीकर्ता तथा स्विङ ट्रेडरहरूका लागि द्वितीय चाल विशेष रूपमा उपयोगी मानिन्छ, किनकि यसले प्रवेश, निकास तथा प्रवृत्ति-अनुरूप अवसर पहिचान गर्न व्यावहारिक आधार प्रदान गर्दछ।
ग. अल्पकालीन चाल (माइनर मुभमेन्ट)
अल्पकालीन चाल (Minor Movement) भनेको मुख्य प्रवृत्तिभित्र विकसित हुने छोटो अवधिका उतार–चढावहरू हुन्। सामान्यतः यस्ता चालहरू केही दिनदेखि केही हप्तासम्म सीमित रहन्छन्। प्रकृतिगत रूपमा अल्पकालीन चालहरू अपेक्षाकृत बढी अस्थिर, संवेदनशील तथा अनियमित हुन्छन्, किनकि तिनमा तात्कालिक समाचार, क्षणिक सेन्टिमेन्ट, अल्पकालीन माग तथा आपूर्तिको असन्तुलन र सट्टेबाजी गतिविधिको प्रभाव तीव्र रूपमा प्रतिबिम्बित हुन्छ।
यद्यपि यस्ता चालहरूले बजारको दीर्घकालीन वा प्राथमिक दिशा प्रत्यक्ष रूपमा परिवर्तन गर्न सक्दैनन्तथापि तिनीहरूले बजारको तात्कालिक मनोविज्ञान, छोटो अवधिको सहभागिता तथा मूल्यको सूक्ष्म व्यवहारलाई भने स्पष्ट रूपमा प्रतिबिम्बित गर्छन्।
अल्पकालीन चालको पहिचान प्रायः दैनिक, घण्टा वा अझ साना समय-सीमाका चार्टहरूको विश्लेषणमार्फत गरिन्छ। त्यसैले, अल्पकालीन लगानीकर्ता, डे–ट्रेडर तथा स्क्याल्परहरूका लागि यही चाल सबैभन्दा बढी सान्दर्भिक हुन्छ, किनकि उनीहरूको निर्णय प्रक्रिया मुख्यतः तात्कालिक मूल्य चाल, क्षणिक मोमेन्टम तथा सूक्ष्म बजार अवसरहरूमा आधारित हुन्छ।
बजार चालहरूको अन्तर्सम्बन्ध
यी तीनवटै चालहरू आपसमा अन्तर्सम्बद्ध रहँदै एकअर्काभित्र तहगत रूपमा क्रियाशील हुन्छन्।
प्राथमिक चालले बजारको दीर्घकालीन तथा मूल दिशा निर्धारण गर्दछ।
द्वितीय चाल प्राथमिक चालभित्र विकसित हुने मध्यम अवधिको सुधारात्मक वा प्रतिगामी चाल हो।
अल्पकालीन चाल द्वितीय चालभित्र देखा पर्ने दैनिक वा अत्यन्त छोटो अवधिका उतार–चढावहरूको अभिव्यक्ति हो।
यस अर्थमा, बजारको प्रत्येक सानो चाललाई छुट्टाछुट्टै होइन, ठूलो संरचनाको एउटा अंशका रूपमा बुझ्नुपर्छ। उदाहरणार्थ, यदि बजार दीर्घकालीन बुलिश प्राथमिक प्रवृत्तिमा छ भने त्यस प्रवृत्तिभित्र केही हप्तासम्म मूल्यमा गिरावट आउन सक्छ, जसलाई द्वितीय चाल वा करेक्सनका रूपमा व्याख्या गरिन्छ। पुनः, यही करेक्सनको अवधिभित्र दिनहुँ देखिने साना उकालो–ओरालो, क्षणिक उतार–चढाव तथा तात्कालिक प्रतिक्रियाहरू अल्पकालीन चालका रूपमा प्रकट हुन्छन्। अतः बजार संरचनाको यथार्थ बोधका लागि यी तीनै तहका चालहरूलाई पृथक नभई एकीकृत र श्रेणीबद्ध ढंगले विश्लेषण गर्नु आवश्यक हुन्छ।
बजारका तीन चालहरूको तुलनात्मक सारांश
| आधार | प्राथमिक चाल (Primary Movement) | द्वितीय प्रतिक्रिया (Secondary Reaction) | दैनिक उतारचढाव (Daily Fluctuation) |
|---|---|---|---|
| परिभाषा | बजारको मुख्य दीर्घकालीन दिशात्मक चाल | प्राथमिक चालभित्रको अस्थायी विपरीत सुधारात्मक चाल | दिनानुदिन देखिने सूक्ष्म तथा अल्पकालीन मूल्य चाल |
| दिशा | बजारको मूल दिशा (बुलिश वा बेयरिश) | प्राथमिक चालको विपरीत दिशा | क्षणिक तथा प्रायः मिश्रित |
| अवधि | धेरै महिनादेखि धेरै वर्षसम्म | केही हप्तादेखि केही महिनासम्म | केही दिनदेखि केही हप्तासम्म |
| प्रयोग | मुख्य ट्रेन्ड पहिचान गर्न | करेक्सन र रिट्रेसमेन्ट बुझ्न | शर्ट-टर्म टाइमिङका लागि |
| मूल्य परिवर्तन | यसले बजारको ठूलो हिस्सा कभर गर्छ। | अघिल्लो प्राथमिक चालको ३३% देखि ६६% सम्म रिट्रेस हुनसक्छ। | अल्पकालीन उतार–चढाव |
| महत्व | दीर्घकालीन लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण। | स्विङ ट्रेडरको लागि उपयुक्त। | अल्पकालीन तथा डे ट्रेडरको लागि उपयुक्त |
| चार्ट अवधि | मासिक, त्रैमासिक, अर्धवार्षिक | साप्ताहिक वा पाक्षिक | दैनिक वा सोभन्दा साना अवधि |
३.६. अन्तिम मूल्य (क्लोजिङ प्राइस) को प्रयोग
डाउ थ्योरीको छैटौँ सिद्धान्तले बजार विश्लेषणमा अन्तिम मूल्य (Closing Price) को केन्द्रीय तथा निर्णायक महत्त्वलाई स्पष्ट रूपमा स्थापित गर्दछ। यस सिद्धान्तअनुसार, बजारको प्रवृत्ति (Trend) को विश्लेषण गर्दा अन्तिम मूल्यलाई सबैभन्दा विश्वसनीय र महत्त्वपूर्ण सूचकका रूपमा ग्रहण गर्नुपर्दछ। कुनै पनि कारोबार अवधिभर मूल्यमा विभिन्न प्रकारका उतार–चढाव, अस्थिरता तथा क्षणिक परिवर्तनहरू देखा पर्न सक्छन्तथापि उक्त अवधिको अन्त्यमा कायम रहने अन्तिम मूल्यले बजार सहभागिहरूको समष्टिगत निर्णय, माग–आपूर्तिको अन्तिम सन्तुलन तथा सो अवधिको वास्तविक मूल्य स्वीकृतिलाई प्रतिनिधित्व गर्दछ। यस अर्थमा, क्लोजिङ प्राइस केवल दिनको अन्तिम कारोबार मूल्य मात्र नभई बजारको तात्कालिक मनोविज्ञान, स्वीकृत मूल्यस्तर तथा प्रवृत्तिको यथार्थ दिशालाई अभिव्यक्त गर्ने सर्वाधिक अर्थपूर्ण मूल्यबिन्दु मानिन्छ।अन्तिम मूल्यलाई प्राथमिकता दिनुका पछाडि धेरै प्राविधिक र मनोवैज्ञानिक कारणहरू छन्:
बजार सहभागीहरूको सहमति: कुनै निश्चित कारोबार अवधिभर भएका समस्त खरिद–बिक्री क्रियाकलापपश्चात अन्त्यमा कायम हुने मूल्यले क्रेता र विक्रेताबीचको अन्तिम सहमति (Final Consensus) लाई प्रतिनिधित्व गर्दछ। यसैले, उक्त अवधिका लागि बजारले स्वीकृत गरेको आधिकारिक मूल्यस्तरका रूपमा क्लोजिङ प्राइसलाई हेरिन्छ।
क्षणिक उतारचढावको न्यूनीकरण: दोस्रो, कारोबार अवधिभर देखापर्ने अन्तरिम उतार–चढावहरू प्रायः क्षणिक समाचार, ठूलो अर्डर, अल्पकालीन सट्टेबाजी क्रियाकलाप वा अस्थायी तरलता असन्तुलनबाट प्रभावित हुन सक्छन्, तर अन्तिम मूल्यले यस्ता अस्थायी प्रभावहरूलाई पर्याप्त हदसम्म समेट्दै तुलनात्मक रूपमा अधिक स्थिर र अर्थपूर्ण मूल्य संकेत प्रदान गर्दछ।
संस्थागत लगानीकर्ताको भूमिका: ठूला संस्थागत लगानीकर्ता, फन्ड म्यानेजर तथा म्युचुअल फन्डहरूले प्रायः दिनको अन्त्यतिर आफ्नो पोर्टफोलियो समायोजन गर्ने भएकाले क्लोजिङ प्राइसमा संस्थागत सहभागिताको प्रभाव विशेष रूपमा प्रतिबिम्बित हुने सम्भावना रहन्छ।
ऐतिहासिक तुलनाको आधार: ऐतिहासिक तुलना, ट्रेन्ड विश्लेषण, प्राविधिक संकेतकहरूको गणना तथा चार्ट प्याटर्नहरूको पहिचान प्रायः अन्तिम मूल्यकै आधारमा गरिने भएकाले यसको विश्लेषणात्मक महत्त्व अत्यन्त उच्च हुन्छ।
मार्जिन कल र सेटलमेन्ट: धितोपत्र बजारका विभिन्न व्यावहारिक पक्षहरू जस्तै मार्जिन कल, सेटलमेन्ट मूल्य तथा अन्य वित्तीय दायित्वहरूको निर्धारण समेत अन्तिम मूल्यमा आधारित हुने भएकाले क्लोजिङ प्राइस केवल विश्लेषणात्मक नभई प्रचालनात्मक दृष्टिले पनि अत्यन्त निर्णायक मानिन्छ।
अतः अन्तिम मूल्यलाई बजारको वास्तविक मनोवृत्ति, स्वीकृत मूल्यस्तर तथा प्रवृत्तिको विश्वसनीय दिशासूचकका रूपमा ग्रहण गर्नु डाउ थ्योरीको सारभूत निष्कर्ष हो।
समग्र निष्कर्ष
डाउ थ्योरी प्राविधिक विश्लेषणको एक आधारभूत तथा समय–परीक्षित सिद्धान्त हो, जसले बजारको व्यवहार, प्रवृत्ति र मनोविज्ञानलाई संरचनात्मक रूपमा बुझ्न सशक्त ढाँचा प्रदान गर्दछ। यसका छवटै सिद्धान्तहरूले स्पष्ट रूपमा देखाउँछन् कि बजार मूल्यले उपलब्ध सम्पूर्ण जानकारीलाई समेट्दै निश्चित प्रवृत्तिभित्र अघि बढ्छ, जहाँ विभिन्न चालहरू (प्राथमिक, द्वितीय तथा अल्पकालीन) तहगत रूपमा एकअर्काभित्र क्रियाशील रहन्छन्। साथै, कुनै पनि प्रवृत्तिको विश्वसनीयता बहु–सूचक पुष्टिकरण र भोल्युमको समर्थनबाट मात्र स्थापित हुन्छ, जबकि अन्तिम मूल्यले बजारको वास्तविक सहमति र दिशा प्रतिबिम्बित गर्दछ।
यस सिद्धान्तको मूल सन्देश के हो भने बजारलाई सही रूपमा बुझ्न केवल एकल संकेत वा क्षणिक गतिविधिमा निर्भर हुनु पर्याप्त हुँदैन; बरु मूल्य संरचना, भोल्युम, प्रवृत्ति र विभिन्न सूचकहरूको समन्वित विश्लेषण आवश्यक हुन्छ। डाउ थ्योरीले विश्लेषक तथा लगानीकर्ताहरूलाई बजारको प्रमुख दिशा पहिचान गर्न, गलत संकेतहरूबाट बच्न तथा दीर्घकालीन र मध्यमकालीन निर्णय प्रक्रियालाई वैज्ञानिक र व्यवस्थित बनाउन मार्गदर्शन प्रदान गर्दछ।
अतः डाउ थ्योरी केवल ऐतिहासिक अवधारणा मात्र नभई आजको आधुनिक बजारमा समेत समान रूपमा प्रासंगिक रहँदै, प्राविधिक विश्लेषणको आधारशिलाका रूपमा स्थापित भएको छ।

